२४ साउन ०७४, काठमाडौं । पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले देशभर पेट्रोलको वितरण ठप्प पार्ने चेतावनी दिएका छन् ।
सोमबार बुटवल र पोखरामा पत्रकार सम्मेलन गर्दै ब्यवसायीले सिंकेज वर्किङ लसबापतको तेलको भुक्तानी नयाँ प्रतिवेदनअनुरुप गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन् ।
व्यवसायीहरुले आफ्ना माग पुरा नभए साउन २६ गतेबाट पेट्रोलको वितरण र साउन २९ देखि डिजेल वितरण नगर्ने घोषणा गरेका छन् ।
यो आन्दोलनको घोषणा गराउन ब्यवसायीलाई निगमकै अधिकारीले उक्साएको ब्यवसायी नै बताउँछन् ।
ब्यवसायीले डिपोबाट तेल ल्याएर बिक्री गर्दासम्म प्राविधिक कारण गुम्ने (लस हुने) तेलबापत पेट्रोलमा प्रति ४ हजार लिटरमा ३५ र डिजेलमा ३६ लिटर क्षतिपूर्ति पाउँदै आएका छन् ।
ब्यवसायीले पटक-पटक यसलार्इ बढाउन माग गर्दै काठमाडौंमा तेलको वितरण रोकेपछि दुई साताअघि आयल निगम, गुणस्तर तथा नापतौल विभाग, उपभोक्तावादी र पेट्रोलियम ब्यवसायी सम्मिलित एउटा समिति बनाएको थियो ।
यो समितिले सोमबार मात्रै तयार गरेको प्रतिवेदनमा पेट्रोलको लस ३५ बाट ७२ लिटर र डिजेलको ३६ बाट ४४ लिटर पुर्याउनुपर्ने उल्लेख रहेकाे स्रोतले बतायो ।
निगममा जग्गा खरिदको लफडाका कारण तत्काल सञ्चालक समिति नबस्ने अवस्था रहेकाले निगमकै केही अधिकारीको उक्साहटमा देशब्यापी आन्दोलन घोषणा गरिएको स्रोतले बताइएको छ ।