व्यवसायी गुरुङबाट एमालेले दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश

१२ कार्तिक ०८१, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।

व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको जग्गामा एक वर्षभित्र भवन पनि बनाइदिने बताएका थिए ।