२९ असार ०७४, काठमाडौं ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
मुद्दा दर्ताका लागि अख्तियारको टोली शर्मालाई लिएर विशेष अदालत पुगेको थियो । तर, दर्ता हुन पाएन ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई शुक्रबार अदालतमै उपस्थित गराउन आदेश दिएकाले अख्तियारले बिहीबार नै मुद्दा दर्ता गराउन चाहेको थियो । तर, समय अभाव भएको छ । शर्मालाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ ।
अख्तियार स्रोतले भन्यो, ‘आजै मुद्दा दर्ता गर्न खोजिएको थियो । तर, समय अभाव रह्यो । अहिलेसम्म भएको अनुसन्धानका आधारमा करिव ११ अर्ब भ्रष्टाचार गरेको हाम्रो दाबी छ ।’
औपचारिक रुपमा मुद्दा दर्ता भइनसकेकाले अख्तियारले यसबारे थप केही खुलाएन ।