शहरी विकासमन्त्री महताेले विवादास्पद अभिव्यक्ति सच्याए

२३ जेठ ०७८, काठमाडौं । कामचलाउ सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहणपछिकाे आफ्नोे विवादास्पद अभिव्यक्ति सच्याएका छन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका सहरी विकासमन्त्री महतोले शनिबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

“मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ” महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए ।

महताेकाे उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै उनको नागरिकता छानबिन हुनुपर्ने लगायतका विषयमा चाैतर्फी आलोचना भइरहेको छ ।