२२ जेठ, काठमाडौं । व्यवस्थापिका संसद् बैठकमा सभामुख ओनसरी घर्तीले शिक्षा विधेयक (आठौँ संशोधन) -२०७२ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदनसहितको उक्त विधेयक, २०७२ माथि छलफल गरियोस् भनी प्रस्ताव गरेका थिए ।
आज पारित उक्त विधेयकबाट प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म विद्यालय तह भएको छ ।
यस विधेयकबाट कक्षा ८ सम्म आधारभूत र ९ देखि १२ कक्षासम्म माध्यमिक शिक्षा भएको छ । यससँगै प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ । तर, कक्षा १२ को अन्तिममा अहिलेको एसएलसी जस्तो अर्को परीक्षा हुनेछ ।
अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।
विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ ।
शिक्षा मन्त्रालयका अनुसार अवकाश छाडेर प्रतियोगिता रोज्ने अस्थायी शिक्षकले कुनै सुविधा पाउने छैनन् ।
५ वर्षदेखि १० वर्षसम्म अस्थायी सेवा गरेका शिक्षकले प्रत्येक वर्षको आधा महिनाको तलब पाउनेछन ।
त्यस्तै १० वर्षदेखि १५ वर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने भएका छन ।
यो विकल्प रोज्न पाउनेमा १७ हजार अस्थायी शिक्षक छन् ।