१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनको विषयलाई लिएर संसदमा प्रतिनिधित्वि गर्ने राजनीतिक दलहरुलाई आइतबार शितल निवास बोलाएर दुरी कम गर्ने प्रयास गरे पनि नेताहरुले आ–आफ्नै डम्फू बजाएर फर्किएका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्तीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए ।
नेकपा मालेका महासचिव सीपी मैनालीका अनुसार राष्ट्रपति भण्डारीले बैठकमा अबको निकास के हुन्छ ? भनेर नेताहरुलाई सोधेकी थिइन् । बैठकमा सहभागी नेताहरुले पालैपालो आ-आफ्नो दलीय अडानमा केन्द्रित रहेर धारणा राखेका थिए ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्टपतिलाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको र आफू सहमतिका साथ अघि बढ्न तयार प्रतिक्रिया दिए ।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको बताए ।
मधेसी मोर्चाका नेताहरुले भने संशोधन प्रस्तावमा आवश्यक संशोधन गर्न सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल चलाउन सकिने बताएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा केहीबेर मात्रै बसेर शीतलनिवास छाडेर नयाँ बानेश्वरमा सम्पादकहरुसँगको छलफलमा सहभागी बनेका थिए ।
बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले सहमतिको वातावरणका लागि संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने बताए । यो प्रस्ताव असंवैधानिक एवं राष्ट्रिय हितको विरुद्धमा भएकाले संसदमा छलफल हुन नदिइएको ओलीले बताए ।