२६ फागुन, राजविराज । प्रहरीको गोली लागेर एकै गाउँ सप्तरीको मलेठका तीन जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको छ ।
एमालेको मेची महाकाली अभियानको बिरोधका क्रममा गत सोमबार प्रहरीको गोली लागेर मलेठका ३ जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको हो ।
प्रहरीको गोली लागेर मृत्यु भएका चार मध्ये तीन जना मलेठ गाविसका बासिन्दा हुन् । सो गाउँका २१ वर्षीय रंजन मेहता, ४४ वर्षीय पिताम्वर मण्डल र ३० वर्षीय विरेन्द्र महतोको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
सोही गाविसका गोली लागेर गम्भिर घाईते भएका दुई जनाको अझै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यस्तै प्रहरीको गोली लागेर मृत्यु भएका अर्का आनन्द साहको गाउँ प्रशवनी पनि शोकमा डुबेको छ । चारै जनाको शव अहिले पनि धरानस्थित प्रतिष्ठानको शव गृहमै राखिएको छ ।
होलीको तयारीमा जुटेको गाउँ एकाएक भएको दुखद् घटना पछि शोक मग्न बनेको छ । बुधबार बिहान मलेठ गाउँ पुग्दा गाउँभरी चुलो बलेको दृष्य कतै देखिएन । मृतक र आफन्तको घरमा रुवावासीको दृष्य मात्रै देखिएको थियो ।
मृत्यु भएका र घाइतेका आफन्तका घरमा चुलो नबलेको स्थानीय प्रदिप यादवले बताए । भाइको मृत्युले परिवारका सदस्यहरुको खाने पिउने इच्छा त्यसै मरेको प्रहरीको गोली लागेर मृत्यु भएका रंजन मेहताका दाजु संजनले बताए ।
स्थानीय अमरनाथ मण्डलले गत सोमबार प्रहरीले नरसंहारनै चलाएको भन्दै शोकका कारण बिगत ३ दिनदेखि गाउँमा कतै चुलो नबलेको सुनाए । उनले भने–‘हिजो अस्तिसम्म सँगै हाँसेखेलेका साथीभाइको विभत्स हत्या झलझली आँखामा घुमिरहेका बेला कस्को चुलो बल्ने ?’
मधेशी मोर्चाको आन्दोलन झनै चर्कियो
प्रहरीसँगको झडपका क्रममा गत सोमबार गोली लागेर घाइते भएका सप्तरीको मलेठ–२ निवासी ३२ वर्षीय विरेन्द्र महतोको बुधबार मृत्यु भएको खबरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलन झनै चर्किएको छ ।
आक्रोसित मोर्चाका कार्यकर्ताहरुले वुधबार बिहानैदेखि जिल्लाका प्रमुख बजारहरुमा टायर बालेर प्रदर्शन गर्नुका साथै एमाले पार्टी कार्यालय तथा एमालेका नेता र सांसदको घरमा ढुंगामुढा र तोडफोड गरेका छन् ।
यसैक्रममा आन्दोलनकारीले राजविराज ५ स्थित एमालेको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
यस्तै एमाले सांसद रञ्जु ठाकुरको राजविराज ९ स्थित डेरा र एमाले केन्द्रिय सदस्य सुमन प्याकुरेलको राजविराज ४ स्थित घरमा तथा एमाले जिल्ला सदस्य कमानन्द देवको राजविराज ९ स्थित घरमा पनि ढुंगामुढा गरी क्षति पु¥याइएको छ ।
प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवको राजविराज ९ स्थित घरमा पनि ढुंगामुढा गरेका छन् ।