९ भदौ ०७४,काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहणपछिको पहिलो बैठक आज केन्द्रीय कार्यालय सञ्चारग्राममा बसेको छ ।
महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यानवयनलाई पहिलो मुद्धा बनाएर जाने निर्णय गरेको छ ।
बैठकपछि महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पहिलो बैठकका निर्णयहरु :
१. विगतमा कर्तव्यपालनका सिलसिलामा मारिएका सम्पूर्ण पत्रकारहरूप्रति
२. महासंघको २५औं महाधिवेशन सफल पार्न भूमिका खेल्नुहुने सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै महाधिवेशनमा सहभागी भई नीति, कार्यक्रम र विभिन्न प्रस्तावका साथै नयाँ नेतृत्व निर्वाचित गर्ने प्रक्रियामा समेत सामेल हुनु भएका सबै सभासद्हरू, अघिल्लो कार्यसमिति र निर्वाचन समितिप्रति आभार प्रकट गर्दछ ।
३. महासंघको यो नवनिर्वाचित कार्यसमिति श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहलकदमी लिने संकल्प गर्दछ । श्रमजीवी पत्रकारहरूलाई तत्काल नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ ।
४. लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितको पक्षमा विगतदेखि महासंघको अग्रसरलाई थप निरन्तरता दिने संकल्प गर्दछ ।
५. संविधान कार्यान्वयनका लागि देशका सबै राजनीतिक दलहरूलाई एकतावद्ध भएर अघि बढ्न आहृवान गर्दछ ।
६. यो कार्यसमिति पत्रकार महासंघको कल्याणकारी कोषलाई आगामी ३ वर्षमा ५ करोड पु¥याउने संकल्प व्यक्त गर्दछ ।
७. राज्यद्वारा जनतामा जनहितका लागि प्रवाह गर्ने सूचना, सन्देशहरू प्रसारण गरेबापत उपलब्ध हुँदै आएको ‘लोककल्याणकारी विज्ञापन’ सबै प्रकारका सञ्चारमाध्यममा उपलब्ध गराउनुका साथै समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन रकम वृद्धि गरी मिडियाको बहुलता र विविधतालाई सम्मान गर्नेतर्फ यो बैठक सरोकारवालाको ध्यानाकर्षण गर्दछ ।
८. महासंघको आगामी केन्द्रीय समितिको बैठकबाट विस्तृत कार्ययोजना तयार पारी अगाडि बढ्ने बैठकले निर्णय गर्दछ ।
बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले महासंघको पदमा बहाल रहँदा राजनीतिक दल तथा भातृ संगठनका कुनै पनि तहको पदमा नरहने प्रतिवद्धता व्यक्त गर्दै मिडियाको लगानीकर्ताको भूमिकामा समेत नरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।