अन्टुफ पदाधिकारीको बैठकको निर्णय : २०७९ माघसम्म महाधिवेशन
६ साउन ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ केन्द्रीय पदाधिकारीको बैठक २०७९ माघसम्म महाधिवेशन गरिसक्ने लगायतका सांगठनिक निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
अन्टुफ अध्यक्ष जगत सिम्खडाको अध्यक्षता र फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यतामा बसेको साउन ५ र ६ गतेको पदाधिकारी बैठकले २०७९ माघसम्म महाधिवेशन गरिसक्ने साथै तत्काल सम्पूर्ण श्रमिकहरुलाई कोरोनाविरुद्धको खोप र दैनिकीमै समस्या परेका श्रमिकहरुलाई खाद्यन्न राहत उपलब्ध गराउन सरकारलाई ज्ञापन पत्र बुझाउने लगायतका निर्णय गरेको महासंघका सचिव लालकुमारी पुन ‘सुशीला’ले जानकारी दिइन् ।
बैठकका निर्णयहरुबारे सचिव पुनले भनिन्, “बैठकले २०७९ जेठसम्म महासंघको सातै प्रदेश, सबै जिल्ला र स्थानीय तहका साथै पेशागत संगठनको केन्द्रदेखि प्रतिष्ठानस्तरका सबै कमिटीहरुको भेला, सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।”
श्रमबजारमा रोजगारीको नाममा कमिसन : खुल्लम खुला मानव व्यापार
यस्तै महासंघका उपाध्यक्ष एसबी थापाले नेपाली श्रमबजारमा मजदुरहरुलाई अपरिभाषित तर आधुनिक दासकारुपमा श्रम आपूर्तिकर्ताले वस्तुसरह खरिदबिक्री गर्ने क्रम बढ्दै गइरहेकाले यसलाई रोक्न महासंघले भूमिका खेल्ने विषयमा समेत बैठकमा छलफल भएको बताए ।
सार्वजनिक खरिद ऐन र श्रम ऐनको गलत प्रयोग हुँदा श्रमिकहरु चरमशोषणमा परेको भन्दै उपाध्यक्ष थापाले कानुनमै संशोधन गरेर श्रमिकहरुमाथि हुने आर्थिक, शारीरिक, मानसिक लगायतका सबैखाले शोषण रोक्नुपर्नेमा बैठकले जोड दिएको बताए ।
“बैदेशिक रोजगारीको नाममा होस वा श्रम आपूर्तिको नाममा किन नहोस् वैधानिकरुपमै सरकारले, निजी क्षेत्रले यहाँ श्रमजीवी मजदुरको व्यापार गरिरहेको छ,” उनले अघि बढेर भने, “अझ भनौं, रोजगारीको नाममा कमिसन खाएर यहाँ खुल्लम खुला मानव व्यापार भइरहेको छ । यसलाई रोक्न महासंघले आगामी दिनमा स्टेप चाल्नेछ ।”
यस्तै राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डीत गर्ने, विधि र पद्दतिबाट सांगठनिक बेथितिलाई रोक्ने गरी महासंघ अघि बढिरहेको बताउँदै उपाध्यक्ष थापाले मुलुकको परिवर्तित संरचनाअनुरुप महासंघले छिट्टै विधान सम्मेलन गर्ने जानकारी पनि दिए ।