३१ साउन ०७७, कोहलपुर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) बाँकेले नेपाल टेलिकम नेपालगन्ज र नेपाल वायु सेवा निगमबाट निश्कासित श्रमिक तथा कर्मचारीलाई पुनर्वहाली नगरे कार्यालयको काम कारवाही ठप्प पार्ने चेतावनी दिएको छ ।
शनिबार कोहलपुरमा बसेको जेटीयुसीसी बाँकेको बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेर विद्यमान ऐनको कार्यान्वयन गर्नुपर्ने बेला कानुनको धज्जी उडाएको भन्दै यस्तो चेतावनी दिएको हो ।
जेटीयुसीसीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष बसन्त मल्लले नेपाल टेलिकम नेपालगन्ज र नेपाल बायु सेवा निगममा कार्यरत कर्मचारीलाई बिना कारण सेवाबाट हटाइएको भन्दै तत्काल पुनर्वहाली गर्न आग्रह गरेका छन् ।
अध्यक्ष मल्ले भने, ‘भोलि आइतबार सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं, यदि सुनुवाई नगरिए कार्यालयको सम्पूर्ण काम कारवाही नै ठप्प हुनेगरी संघर्ष अगाडि बढाउने छौं ।’
कोरोना कहरमा राज्यकै निकायले आफ्ना श्रमिक तथा कर्मचारीलाई सरकारको नीति तथा कार्यक्रम विपरीत निश्कासन गरेको भन्दै उनले भने, ‘निश्कासित श्रमिक र कर्मचारीहरुलाई तत्काल पुनर्वहाली गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेर विद्यमान ऐनको कार्यान्वयन गरोस्, अन्यथा श्रमिक निश्कासन गर्ने, कानुनको धज्जी उडाउनेहरुलाई आन्दोलनले बढार्ने छौं ।’
शनिबार जेटीयुसीसी बाँकेले निश्कासित श्रमिकका विषयमा सरोकारवाला निकायसँग छलफल गरे पनि कुनै टुङ्गोका नपुगेको अन्टुफ बाँकेका अध्यक्ष मल्लले जानकारी दिए ।
आजको छलफलमा नेपाल ट्रेड यूनिय कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, नेपाल ट्रेड युनिय महासघ प्रदेश सचिवलय सदस्य पूर्ण केसी लगायतले बिना कारण निश्कासन गरिएका श्रमिकलाई तत्काल पुनर्वहाली नगरिए सशक्त आन्दोलन उठाउन ढिला गर्न नहुने बताएका थिए ।
प्रदेश ५ स्थित नेपाल टेलिकम नेपालगन्जमा कार्यरत ८ जना र नेपाल वायु सेवा निगममा कार्यरत ३६ जना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन पक्षले हालै निश्कासन गरेको थियो ।