२४ फागुन ०७५, काठमाडौं । “१०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं, सामाजिक सुरक्षा र प्रतिनिधित्वकाे समान अवसरलाई कार्यान्वयन गर्दै लैङ्गीक हिंसाविरुद्ध एकजुट होऔं” भन्ने मूल नाराका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ, केन्द्रीय महिला कमिटीले मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छ ।
महासंघको केन्द्रीय उपमहासचिव समेत रहेका महिला कमिटी अध्यक्ष विष्णु थापाले शुक्रबार बिहान केन्द्रीय कार्यालय कोटेश्वरमा श्रमिक महिलाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहेको जानकारी दिइन् ।
अध्यक्ष थापाले महिलाहरूले अधिकार पाएको साङ्केतिक दिनकारुपमा र सबैखाले शोषण, विभेद अन्त्यका लागि निरन्तर संघर्षकै रुपमा यो दिवस मनाउन गइरहेको बताइन् ।
“नेपाली श्रमिक महिलाहरूले आंशिक अधिकार प्राप्त गर्न सफल भएको छ । तर, श्रम क्षेत्रलाई हेर्ने हो भने अहिले पनि यस क्षेत्रमा महिला र पुरुषबीच विभेद र असमानता कायमै रहेको छ । कार्यस्थलमा महिलाहरूमाथि हिंसा भइरहेका छन् । पछिल्लो समय हिंसा, शोषण र दमनको रुप मात्रै परिवर्तन भएको छ तर सारमा आमूल परिवर्तन हुनसकेको छैन् । अहिले पनि समानताका लागि हाम्रो लडाईं जारी नै रहेको छ” अध्यक्ष थापाले थपिन्, “त्यसैले प्राप्त अधिकारको रक्षा र विकास गर्दै असमानताविरूद्ध निरन्तर लडिरहन प्रेरणा दिने दिन आठ मार्चलाई उत्सवकै रुपमा मनाउन गइरहेका छौं ।”
योगदानमा आधारित सामाजिक सुरक्षाकोष ऐन, श्रम ऐन, न्यूनतम् बेतन कार्यान्वयन गराउन साथै श्रम क्षेत्रमा महिलामाथि हुने सबैखाले विभेद, शोषणविरुद्ध आम श्रमिक महिलाहरूले संघर्षलाई सशक्त बनाउनु जरुरी रहेको भन्दै उनले समानताका लागि विभेदको अन्त्य नहुँदासम्म र शोषण कायम रहँदासम्म एकताबद्ध भएर निरन्तर लडिरहन शुभकामना सन्देश पनि दिइन् ।
आज देशभर नेपाली श्रमिक महिलहरूले विभिन्न कार्यक्रम गरेर १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् ।