३० साउन ०७४, काठमाडौं । भगवान् श्रीकृष्णको अनुयायीहरुले कृष्णको जन्मदिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा सम्झना गरी मनाएका छन् ।
आज ललितपुरको पाटनस्थित कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु, भक्तजनहरुले भगवान श्रीकृष्णको पुजा आरधाना गरी कृष्णजन्माष्टमी पर्व मनाए ।
आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ । नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ ।
कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ । कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणहरूमा उल्लेख छ ।
मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ ।