१ कार्तिक ०८१, सुर्खेत । सुर्खेत प्रहरीले २४ वर्षपछि श्रीमतीलाई बेचेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्टलाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको हो ।
विष्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
घरमै लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
भक्तबहादुरले २०५७ साल मंसिर १३ गते श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो ।
घटना:
वि.सं. २०५७ को १ असोजमा ३५ वर्षीय भक्तबहादुरले सोही ठाउँकी २१ वर्षीया नामसरादेवी कँडेललाई विवाह गरेर भारतको गोरखपुर पु¥याए । त्यसको दुई महिना पछि भक्तबहादुरले भारतीय नागरिकलाई १५ हजार रुपैयाँ भारुमा बेच्ने योजना बनाए ।
२०५७ मंसिर ७ मा नामसरादेवीलाई आफूले किनेको भन्दै एक जना व्यक्ति लिन आए । उनी जान नमानेपछि भक्तबहादुरले मार्ने धम्की दिए ।
‘शौचालय जाने बहानामा भागेर नामसरा भारतीय प्रहरीसमक्ष पुग्न सफल भइछन’, नामसरादेवीले सुर्खेत प्रहरीलाई दिएको जाहेरी उदृढ गर्दै डिएसपी विश्वकर्माले भने, ‘पछि बेच्ने र किन्ने व्यक्ति फरार भएछन् । भारतीय प्रहरीले नामसरालाई नेपालसम्म उद्धार गरेर पठाएछ ।’
डिएसपी विश्वकर्माका अनुसार नेपाल आएपछि नामसरादेवीले आफूलाई विवाह गरेर भारत पु¥याएको र एक भारतीय नागरिकसँग बेचेको भन्दै भक्तबहादुरका विरुद्ध ०५७ को मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिइन् ।
मंसिर १६ गते पीडितले जिल्ला अदालत सुर्खेतमा समेत घटनाको विस्तृत बयान दिइन् । ०७६ सालमा नै अदालतले भक्तबहादुरलाई पक्राउको अनुमति दिएको थियो । तर फरार रहेका भक्तबहादुर भारतमै लामो समय लुकिछिपी बसे ।
मानव बेचबिखनविरुद्धको मुद्दाको हदम्याद असीमित हुने भएकाले सुर्खेत प्रहरीले बीचबीचमा उनको खोजतलास गर्दै आएको डिएसपी विश्वकर्मा बताए ।
प्रहरीकाअनुसार ‘पछिल्लो समय भक्तबहादुर घरमै लुकीछिपी बसेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो ।
निवेदक नामसरादेवीको ९ वर्षअघि मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।