श्रीमान, हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानून भन्दा हजुर कसरी माथि होइसिन्छ ?

वेब तस्बिर

दीपशिखा, वेब तस्बिर ।

हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो –

यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु ।

हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौं– म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो । न्यायका लागी लडिएको एउटा महान युद्ध ।

म सम्झाउँ हजुरलाई –युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैंन । युद्ध पिडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ ।

हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे ।

हजुरलाई हेक्का होस्–हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौं । राज्यका विद्यमान कानून फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौं ।

हजुरलाई थाहा छ –युद्धमा घटेका जघन्य घटनाहरुमाथि विद्यमान न्यायसिदान्तभन्दा अलग्गै निकायले जाँचबुझ गर्छ । हाम्रो युद्धका सवालमा पनि सोही भनिएको छ । माओवादी सेना समायोजन भए । माओवादी युद्धका कमाण्डरहरु आज पनि राज्यको सम्मानित निकायमा जनताले जिताएर पठाएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बनाउने कुरा सम्झौतामा उल्लेख छ ।

हजुरको आदेश त्यो ‘आयोग बनाउ’ भनेर कहिल्यै आएन । तर ति लड्नेहरुलाई थुन भनेर आयो । लड्नेहरुलाई नछोड भनेर आयो । ती अपराधी हुन् भनेर आयो ।

श्रीमान, कानुन पढिएको छैन । उसो त हामी जंगलीहरुले त्यति जान्ने कुरा पनि भएन । तर हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानून भन्दा हजुर कसरी माथि होइसिन्छ ? एक मनमा लाग्छ–कानुन फेरियो । कानुनले राज्य फेर्र्यो । तर हजुरहरु फेरिनु भएन । फेरिन जरुर ठान्नु भएन । भनिस्योस् न श्रीमान, राणाहरुको जंगी कानून र हजुरको उदण्ड फैसलामा के फरक छ ? उ बेला कानुन भन्दामाथि राणाहरु हुन्थे । पञ्चायतमा पंचहरु भए ।

प्रजातन्त्रमा कानुन बेपत्ता थियाे । गणतन्त्रमा हजुरहरु कानून भन्दा माथि होइसिन्छ । ती जंगीहरु, ती पन्चहरु भन्दा हजुर कसरी फरक हुनुभयो ?

हजुरले मानिस्यन। अरुको पूनर्रसंरचना, न्यायलयको हुनुहुँदैन भनिस्यो । हजुरहरु फेरिन परेन । हजुरहरुको काम गर्ने शैलि बदल्नु परेन । हजुरहरु कानूनभन्दा माथि होइसिन्थ्याे र’त लड्नेहरुमाथि कानूनका डण्ठा बजार्दै हुनुहुन्छ ।
म र म जस्तैले लडेर आएको गणतन्त्र, संघियता, र धर्मनिरपेक्षताको महान व्याख्या वा नजिर कायम गर्ने स्थानमा हजुर विराजमान होइसिन्छ। त्यो आसन त हजुरको हिजोकै हो । त्यो आसन फेर्न लडेको म, त्यो आसनमा न्यायको तराजु झुण्ड्याउने श्रीमान होइन तराजु जस्तै अडिग श्रीमानका लागि लडेको एउटा लडाकु हुँ ।

भनिस्योस्–हजुरको न्यायलयमा अहिले बिचाराधिन मुद्धा कति छन् ? हाम्रा दाईभाईले न्यायका लागी हालेका दरखास्तको चाङ हजुरभन्दा कति फिट अग्लो छ ? यो देशका ठालुहरुका विरुद्ध परेको मुद्धा कता बेपत्ता छन् ? हजुरलाई ख्याल होस् –हजुरको न्यायघर धाउँदाधाउँदै तिन पुस्ते पूस्ता सकिएका हजारौं छोरानातिहरु छन् । बा हरु भन्थे–कानुन अन्धो हुन्छ । मलाई लाग्थ्यो–गणतान्त्रिक कानुन अन्धो हुँदैन । बा’लाई अब मैले भन्नपर्ने भयो–ए मेरा बा, कानून बहिरो पनि छ ।

कानूनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कसले बनाएको ? कानून विवेकले चल्छ कि चल्दैन ? कानून आवेगले चल्छ कि चल्दैन ? कानुन दुखमा रुन्छ कि रुँदैन ? कानून खुशीमा हाँस्छ कि हाँस्दैन ?
कहिले लाग्छ–कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्यको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ ।

कानून एउटै हो–हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि, ‘लोकमान जनआन्दोलनका दोषी करार भएकाले अख्तियारमा उनको नियुक्ति रोकियोस्’ भने परेको रिट कता थन्किएको छ ? लोकमानमाथि हजुरको कानून मौन छ । बालकृष्णमाथि हजुरको कानुन जाग्छ । हजुरको कानूनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।

अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका प्रधानमन्त्री भए । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कुटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ति यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन् ?

श्रीमान नरिसाइयोस्–हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो कानून कस्तो कानून ? अब हजुर भन्नुस् –यस्तो विभेदी कानून कसैले किन मानोस् ।

अन्तिममा भनिराँखु, –हामी लडेवापत जेल जान्नौ । हाम्रा बालकृष्ण ढुगेंल र केशव राईहरुले लडेवापत सजाए काट्न सक्दैनन् । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण बनाइस्योस् । जनयुद्धकालिन जघन्य घटनाहरु त्यता पठाइस्योस् । कि भनिस्योस्– मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिन्न भने हामी पनि मान्दैनौं । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ ।

आगे हजुरको जो मर्जी… खबरडबलीमा दिपशिखाको विचार छ ।

तपाइको मत