१९ कार्तिक ०७५, काठमाडौं । श्रीलंकाका सांसदहरूबीच कुटाकुट भएको छ ।
बिहीबार बिहान बसेको संसद बैठकमा चकर्दो दलीय तनावका कारण दुई पक्षका सांसदबीच कुटाकुट भएको हो ।
संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो । कुटाकुटका बेला राजापाक्षे केही पर कुर्सीमा बसिरहेका थिए ।
सेतो पहिरनमा बैठकमा उपस्थित भएका थुप्रै सांसदहरु आपसमा मुक्कामुक्की नै गरेका थिए । झगडाबीच एक सांसद त विरोधी सांसदको प्रहारपछि भुईँमै पल्टिएका थिए । कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ ।
बैठकको सुरूमा सभामुख जयसूर्याले देशमा अहिले कोही पनि प्रधानमन्त्री नभएको बताएका थिए । उनले बुधबारमात्रै अविश्वासको मत पारित भएका महिन्दा राजापाक्षे र अघिल्लो महिना राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अपदस्त गरेका रनिल विक्रमासिंघे दुबैको मन्त्रिपरिषद् नरहेको बताएका थिए ।
अघिल्लो महिना सिरिसेनाले अचानक विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंका राजनीतिक संकटमा फसेको छ । संसद विघटन गरेर आमनिर्वाचन घोषणा गरेका सिरिसेनाको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि संकट झन गहिरिँदै गएको छ ।













