श्री ३ प्रधानमन्त्री कामचलाउ भएका छन् – नेकपाका अध्यक्ष नेपाल

१५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले संविधान, लोकतन्त्रका मूल्य र मान्यतकाविरुद्धमा जनाधिकारका विरुद्धमा, जनचाहनाका विरुद्धमा प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी कदम चालेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले समाजका सबै तह र तप्का प्रधानमन्त्री ओलीको असंवैधानिक कदमकाविरुद्ध आन्दोलित भएको पनि बताए ।

ठूलो बलिदानीबाट प्राप्त उपलब्धिहरु हेर्दा हेर्दै समाप्त हुने पो हुन् कि भन्ने चिन्ता लागिरहेको भन्दै अध्यक्ष नेपालले भने, “कस्तो बिडम्बना, प्रतिनिधि सभाको विघटन गर्ने व्यक्ति, संसद विघटन भइसकेपछि पनि अहिले आफूलाई प्रधानमन्त्री भनेर सम्बोधन गरिरहेका छन् । यो संविधानको प्रावधानसँग मेल खान्छ ? प्रतिनिधिसभाको विघटन भइसकेपछि त्यो व्यक्ति प्रधानमन्त्री हुन्छ ?”

उनले भने, “संविधानत : प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुनै सक्दैन, त्यो कामचलाउ मात्रै हुन्छ । श्री ३ प्रधानमन्त्री केपी ओली कामचलाउ भएका छन् ।”

अध्यक्ष नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफ्नो कित्तामा उभ्याउन विभिन्न लाभका पद बाडिँरहेको साथै राजनीतिक नियुक्ति गरिरहेको भन्दै देश र संविधानप्रति इमानदारहरुले उनको ललिपपलाई बहिस्कार गरेको बताए ।