८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले वास्तविक अपराधी पर्दा पछाडि भएको बताउँदै आफूलाई अदालतभित्र कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् ।
कार्कीले केही महिनायता आफूविरुद्ध षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको भन्दै कालोमोसो दल्ने अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गर्न आग्रह गरेका हुन् ।
पक्राउ परेकालाई ‘अवोध कारिन्दा’ भन्दै कार्कीले भनेका छन्, ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु ।’
बिहीबार विप्लव माओवादीका दुई विद्यार्थीले सर्वोच्चमै कार्कीलाई कालोमोसो दलेका थिए । र, आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।