२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताएका छन् ।
प्रधानमन्त्रीले काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने भन्दै प्रधानमन्त्रीले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने विश्वास समेत दिलाएका छन् ।
प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बने पछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि बढाइएको बताए ।
घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित
नेपाल विद्युत प्राकिरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई नेपाल उद्योग वाणिज्य महासंघले ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ ।
सोमबारदेखि काठमाडाैंमा सुरू भएको महासंघको ५१औं वाषिर्क साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङ सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका हुन् ।
यसवर्ष देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेको भन्दै घिसिङलाई महासंघले सम्मान गरेको हो ।
महासंघले घिसिङसँगै विभिन्न क्षेत्रका ब्यक्तित्वलाई पनि ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराले वित्तक्षेत्रमा ट्रेण्ड सेटरको अवार्ड प्राप्त गरेका छन् ।
त्यसैगरी पर्यटन क्षत्रेको ट्रेण्ड सटरको अवार्ड कर्ण शाक्यले पाएका छन् । उडड्यन क्षेत्र ट्रेण्ड सेटरको अवार्ड बिरेन्द्रबहादुर बस्नेतले हात पारेका छन् भने मनोरञ्जन क्षत्रेको अवार्ड क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनले पाएका छन् ।
आईटी क्षत्रेको ट्रेण्ड सेटरका अवार्ड रुद्रराज पाण्डेले जितेका छन् भने शिक्षातर्फ सुरेशराज शर्मा, स्वाथ्यमा सन्दुक रुइत, समाजिक क्षेत्रमा अनुराधा काइरालाले ट्रेण्ड सेटरको आवर्ड पाएकी छिन् ।
सेवा क्षेत्रतर्फ मनकामना केबलकारका लक्ष्मणबाबु श्रेष्ठले टेण्ड सेटरको अवार्ड हात पारेका छन् । त्यसैगरी सञ्चार क्षेत्रको ट्रेण्ड सेटरको अवार्ड कैलाश सिरोहियाले पाएका छन् ।
मरोणरान्त सम्मानबाट बिराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छा सम्मानित भएका छन् ।