१९ भदाै ०७४, राजविराज । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् ।
सप्तरीको राजविराजमा प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादवका आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।
विरोधमा बिहानैदेखि यादवको घर अगाडि कार्यकर्ताले नाराबाजी र ढुंगामुढा गर्दै घरमा आगजनी गर्ने प्रयास समेत गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।