संघीय सरकारसँग मल उपलब्ध गराउन प्रदेश कृषिमन्त्रीको आग्रह

दिनानाथ यादव/९ असार ०७७, सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले धान खेतीका लागि मल अभाव भएको भन्दै नियमित एवम् सहज आपूर्तिकालागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

मन्त्री साहले एक प्रेस विज्ञप्ति जारी गरेर संघ सरकारले विभिन्न लटमा आपूर्ति गरेको मल प्रदेश २ मा कम मात्रामा आएको भन्दै अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि मन्त्री साहले आग्रह गरेका हुन् ।

‘देशको कूल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र मनसुन आएकोले रोपाइँका बेला पर्याप्त परिमाणमा डिएपी युरिया चाहिन्छ भन्ने बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा म विश्वस्त छु’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रदेश २ मा धानबाालीकालागि मात्र करिब एक लाख मेट्रिक टन मल आवश्यक हुन्छ, त्यसैले अहिले संघीय सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित छ ।’

रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यकता हुने भन्दै उक्त विषयमा समेत संघीय प्रशासनका सरोकारवालाहरूलाई अवगत गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

माटोको उर्वरा शक्तिमा ह्रास, सिंचाइका लागि अपर्याप्त संरचना, हाइब्रिड बीउको बढ्दो प्रयोग तथा पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल असर आदिका कारण तराई मधेसमा खेतीकिसानी कार्य अत्यन्त कष्टप्रद र चुनौतीपूर्ण हुँदै गएको समेत विज्ञप्तिमा उल्लेख छ ।

किसानहरूले समयमा मलखाद र बीउबिजन नपाउँदा उत्पादन लागत बढ्ने, उत्पादित सामग्रीको परिमाण कम हुने र प्रतिफल प्राप्तिमा कठिनाइ हुने समस्या वर्षौंदेखि रहँदै आएको संघीय सरकारलाई स्मरण गराएका छन् ।

उनले डिएपी युरिया पोटास भण्डारण गरी बढी मूल्यमा बिक्री वितरण गर्नेहरूलाई पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढङ्गले मल उपलब्ध गराउनका लागि संघीय गृह प्रशासनको गम्भीरता आवश्यक रहेको जनाइएको छ ।