५ जेठ ०७८ , काठमाडौं । श्रम तथा व्यवस्थापन सुरक्षा विभागले कर्मचारी संचय कोषलाई श्रम ऐन २०७४ विपरीत कुनै पनि रोजगार सम्झौता नगर्न नगराउन साथै सर्वोच्चको आदेश कार्यान्वयन गर्न भनेको छ ।
विभागमा अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मी ढकालले कानुनविपरीत नेपाल बन्धन सेक्युरिटी एण्ड बर्कर सर्भिसेज प्रा.लि. र कर्मचारी संचयकोष बीच रोजगार सम्झौता हुन गइरहेको भन्दै नेपाल बन्धन सेक्युरिटीको श्रमिक आपूर्ति अनुमति पत्र निलम्बन बा खारेजीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई गर्दै विभागले यस्तो भनेको हो ।
विभागले “सर्वोच्च अदालतको मिति २०७७ पौष २२ गते विपक्षी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार समेतको नाममा जारी भएको उत्प्रेषणको आदेशमा श्रमिक आपूर्तिकर्ता मार्फत बोलपत्रबाट श्रमिक आपूर्ति सम्बन्धमा श्रम ऐन २०७४ को दफा ५८ ( ३ ) विपरीत हुने गरी कुनै सम्झौता नगर्नु नगराउनु भनी अन्तरिम आदेश भएको” उल्लेख गर्दै कर्मचारी संचय कोषलाई सो आदेश कार्यान्वयनका लागि आदेश दिएको हो ।
कर्मचारी संचय कोषले ०७८ वैशाख १७ गते कोषका लागि करार सेवामा सुरक्षाकर्मी लिने सम्बन्धी सिलबन्दी बोलपत्रका सवालमा नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेज प्रा.लि.लाई छनौट गर्ने सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचना जारी भएसँगै २०७८ बैशाख १९ गते अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मी ढकालले श्रम विभागमा निवेदन दिएका थिए भने विभागले बैशाख २१ मा संचय काेषलाई कानुन विपरीत सम्झौता नगर्न, नगराउन आदेश दिएको थियोे ।