१० कार्तिक ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते आइतबार नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका महासचिव गुटरेसले संघीय संसदलाई सम्बोधन गर्ने, हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्ने साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन् भने १४ गते संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले चारदिने नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले पोखरा भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको पनि बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेस क्याम्प पुग्ने जानकारी पाएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।