संविधानसभा – २ बहिष्कार : स्थानीय तहमा उमेदवार !

ललितपुर । दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भने भाग लिने निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले चुनाव वहिष्कार गर्दा क्रान्तिकारी हुने र चुनावमा जाँदा प्रतिक्रियावादी भइने सोँच गलत भएको भन्दै नागरिकको ठूलो हिस्सा चुनावको लागि तयार भएकाले मोर्चाबन्दी गरेर स्थानीय तहको चुनावमा भाग लिने सक्ने निष्कर्ष निकालेको हो ।

वैद्य माओवादीले चुनाव हुने नै भएमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाहेकका शक्तिसँग संयुक्त मोर्चा बनाएर चुनावमा जान सकिने जनाएको छ ।

यसैबिच ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि क्रान्तिकारी माओवादी निकट रहेको खुल्ला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बाट विजय खड्कीले स्थानीय तहको चुनावको ‘क्रान्तिकारी उपयोग’ गर्ने पार्टी नीतिअनुरुप आफूले उमेदवारी दिने बताएका छन् ।

उनै खडकीसँग हाकाहाकी डककमले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

Bijaya

संविधान सभा दुई बहिस्कार गर्नु भो, स्थानीय तहको निर्वाचनमा उमेदवारी दिँदै हुनुहुन्छ किन ?

पहिलो कुरा, हामीले संविधान सभा दुई बहिस्कार गरेकै हौं, बहिस्कार किन गरेका थियौं भन्ने कुरा अहिले पुष्टि भइसकेको कुरा हो । तर, पछिल्लो समय हामीले छरिएर रहेका माओवादी र विचार मिल्नेहरु विगतलाई बिर्सेर एकताबद्ध भएर जाऔं पनि भन्यौं । उहाँहरु एकताको मर्म अनुरुप अघि बढ्न सक्नु भएन । र, हाम्रो एकता हुनसकेन ।

दोस्रो कुरा संविधानसभा दुई गर्ने, गराउने आफूलाई ठूला भन्ने दलहरुको दम्भ कायमै रहेको देखिन्छ, त्यसैले उनीहरुको दम्भ र अहमता तोड्न स्थानीय तहमा जनमत के छ ? भन्ने पुष्टि गर्न पनि स्थानीय तहको चुनावमा भाग लिने निष्कर्षमा पुगेका हौं ।

तेस्रो कुरा जनयुद्धका सहिद, वेपत्ता, घाइते, अपाङ्गहरु जो परिवर्तनका लागि मुक्ति या मृत्यु भनेर होमिए उनीहरुको सपना अधुरै छन् । यी विषयवस्तु यति गम्भीर छ, तर मूल नेतृत्वले गम्भीरतापूर्वक लिएको देखिदैन र लिएको छैन् भन्ने हो । अर्को कुरा, देश र जनताकोहितमा जनस्तरबाट ‘क्रान्तिकारी उपयोग’ गर्दै चुनावमार्फत् अघि बढ्नु पर्छ भन्ने राय पनि आएकाले देशभक्त जनणतान्त्रिक मोर्चाका तर्फबाट ललितपुर महानगरपालिका प्रमुखको उमेदवारका रुपमा मेरो नाम सिफारिस भएको हो ।

हिजोसँगै लडेका तर अहिले छिन्न भिन्न अवस्थामा रहेका माओवादीहरु अझैपनि एक भएर निर्वाचनमा जाँदा राम्रै हुँदैन र ?

कुरा ठिकै हो, तर माओवादी भनिए पनि जीवन, व्यवहार र कार्यशैलीमा नभएपछि त्यो सम्भव हुँदैन । अर्कोकुरा, पूर्व जाने भनेर सँगै बसेर योजना बनाउने तर बाटो लाग्ने बेला नेतृत्व लिने व्यक्ति पश्चिम लागेपछि कसरी हुन्छ ? त्यसैले हामी उत्पीडित, वर्ग, जाति, क्षेत्रका लागि लडेका थियौं र लडिरहन प्रतिवद्ध छौं भनेर पुग्दैन, लडेर देखाउन सक्नु पर्छ । उनीहरुका पक्षमा काम र निर्णय गर्न सक्नुपर्छ, यदि त्यसो हुन सक्यो भने एउटा कुरा तर त्यो सम्भव देखिन्न । जोड दिएर भन्नै पर्ने कुरा यो छ कि, वास्तविक माओवादीहरु छिन्न भिन्न भएका छैनन् । जुन स्थानीय तहको निर्वाचनमा देखिनेछ । छिन्न–भिन्न भएको त स्वार्थ पूरा गर्न माओवादी बनेका र माओवादीमा रहेर भाग नपाएपछि भाग्नेहरु जो खानका लागि कुद्ने व्यक्तिहरु हुन् ।

माओवादीको नाममा भइरहको गलत सोच, प्रवृत्तिलाई हावी हुन नदिन र त्यस्ता सोच र प्रवृत्तिलाई भत्काएर सही बाटोमा ल्याउन हामीले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन लागेका हौं ।

स्थानीय जनाताले मत दिएर जिताउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

ललितपुरवासी जनतासँग लामो समयदेखि घालमेल भई रात, दिन नभनेर जनताको पक्षमा काम गर्दै आइरहकाले र जनस्तरबाटै पार्टी भन्दा पनि स्थानीय लिडरको रुपमा मलाई उमेदवारी दिन आग्रह समेत गरिएकाले साथै म आफैँ पनि स्थानीय भएकाले यहाँको जनताको दुःख, अप्ठ्यारा र आवश्यकता के के हुन् ? भन्ने राम्ररी बुझेको पनि छु । त्यसैले जनताले मलाई जिताउनेमा विश्वस्त छु ।

स्थानीय जनताका लागि केही भन्नु छ कि ?

महानगरवासी जनताले ललितपुर महानगरपालिकाको प्रमुखमा विजय गराउनु भयो भने म जनताको आवश्यकतापूर्तिका लागि गर्नुपर्ने काम कारवाहीमा कुनै कसर बाँकी राख्ने छैन् ।

यसैगरी यहाँको विकास निर्माणको काममा विगतदेखि अहिलेसम्म जनुखालको कमिसनको खेल भइरहेको छ त्यो रोक्नेछु । साथै, जुनखालको ठेकेदारी प्रथा छ, त्यो हुनेछैन् । उपभोक्ता समिति र ठेकेदारको मनोपोली र रवैयामाथि निर्मम हुनेछु ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका आधारभूत विषयमा म संवेदनशील छु साथै खानेपानी र सरसफाईमा नगरवासीलाई फरक टेस्ट ‘स्वाद’ दिलाउने प्रतिवद्धता जनाउन चाहन्छु ।

तपाइको मत