२ असोज ०७५, राजविराज । संघीय समाजवादी फोरम नेपालले संविधान दिवस मनाउनुको तुक नरहेको बताएको छ ।
फोरम अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मंगलबार सप्तरीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
फोरमले संविधान दिवस मनाउँछ कि मनाउँदैन भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा मन्त्री यादवले संविधान २०७२ लाई अहिलेको अवस्थामा फोरम नेपालले मनाउनुको कुनै तुक नभएको र कालो दिवस पनि नमनाउने जवाफ दिए ।
उनले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने र संविधानको समर्थनमा हुने कार्यक्रममा पनि सहभागी नहुने जानकारी दिए ।
मन्त्री यादवले संविधानकै धारा टेकेर निर्वाचन लडेदेखि प्रदेश र संघीय सरकारमा गएको भन्दै कालो दिवस मनाउन नसक्ने बताए ।
असोज ३ गते कालो दिनको रुपमा मनाउने
यद्यपि, संघीय समाजवादी फोरम नेपाल, मधेस प्रदेश समितिले २०७२ साल असोज ३ गते बन्दुक र बहुमतको बलमा विभेदकारी संविधान जारी गरिएको भन्दै उक्त संविधान हालसम्म पनि संशोधन हुन नसकेकाले आगामी असोज ३ गते कालो दिनको रुपमा मनाउने जनाएको छ ।
संविधान संशोधन गर्ने लिखित प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपनि हालसम्म आफूहरुको माग सम्बोधन नभएकाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश समितिका अध्यक्ष रेणुकुमारी यादवले बताएकी थिइन ।
सरकारले असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने भएपनि नेतृ रेणुले सो कार्यक्रममा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिलसमेत गरेकी छन् ।
‘बलपूर्वक संविधान लागू गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले निर्णय गरेको कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’ नेतृ यादवले भदौ ३१ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गर्दछौं ।’