संविधान नमान्नेहरु एक दर्जन भन्दा बढी नरहेको एमाले अध्यक्ष ओलीको दावी

३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  वर्तमान सरकार र मधेसी मोर्चामाथि आक्रमक रुपमा प्रस्तुत भएका छन् ।  साथै, उनले संविधान नमान्नेहरु एक दर्जन भन्दा बढी नभएको बताएका छन् ।

एमालेले सोमबार बसन्तपुरमा संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाउँदै  दुई चार जनाले भनेेको भरमा प्रदेशहरुको सीमांकन हेरफेर नहुने पनि बताए ।

एमाले अध्यक्ष ओलीले संविधानका धाराहरु संशोधन गर्न सकिने तर केही मान्छेले भनेको भरमा एमालेले संविधान संशोधनमा सहयोग गर्न नसक्ने स्पष्ट गर्दै ‘संविधान नमान्ने कति छन् ? भनी प्रश्न गरे, ‘एक दर्जन बढी मान्छे मलाई देखाइदिनुस् ?’

‘संविधान कार्यान्वयन गर्न चुनावको रोडम्याप संसदमा प्रस्तुत भएको थियो, आवश्यक ऐन कानुनहरु संसदमा छलफलका लागि ल्याइएका थिए’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई इंगित गर्दै ओलीले भने, ‘नेपाल संविधान कार्यान्वयन गरी विकास र स्थिरताको दिशामा अघि बढेको हेर्न नचाहनेहरुले लोभी पाठो खोजेर हरियो घाँस देखाए । पाठोले देब्रे हातको हरियो घाँस देख्यो, दाहिने हातको खुकुरी देखेन ।’

तपाइको मत