१३ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सोमबार संघीय समाजवादी फोरमको कार्यालयमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । तर, मधेसी मोर्चाका तीन अध्यक्ष अनुपस्थित रहेकाले कुनै ठोस निर्णय गरेको छैन ।
बैठकमा गठवन्धनका नेताहरुले सरकारप्रति विश्वास घट्दै गएको र, आन्दोलनको विकल्प नभएको बताएका छन् ।
के आधारमा समर्थन गर्ने ?- यादव
फोरम अध्यक्ष तथा गठवन्धनका संयोजक उपेन्द्र यादवले सरकार र सत्तारुढ दलहरु आफूलाई दोष दिएर पन्छिन खोजेको आरोप लगाए । यादवले सरकारले के संशोधन प्रस्ताव ल्याउँछ भन्ने थाहा नै नभएकोले ‘के आधारमा समर्थन गर्ने ?’ भनेका छन् ।
उनले आफूहरुको माग सरकारलाई थाहा भएको भन्दै सरकारले छिटो संशोधन प्रस्ताव दर्ता गर्नु पर्ने बताए ।
ब्ल्याङ्क चेकमा हस्ताक्षर हुँदैन – सुमन
सदभावना पार्टीका महासचिव मनिष सुमनले संविधान संशोधन गर्न प्रमुख दलहरुलाई पीडा भएको टिप्पणी गरे ।
‘बाहाना मात्र बनाइरहेको छ, हामीले विधेयक नै पढ्न पाएका छैनौं, समर्थन गर्नुपर्यो भन्न थालेका छन्’ सुमनले भने, ‘ब्ल्याङ्क चेकमा हस्ताक्षर हुँदैन ।’
उनका अनुसार आन्दोलनमा जाने निर्णय गर्नु पर्ने मधेसी मोर्चा र गठवन्धनले सरकारलाई केही दिन हेर्नेछ । र, संशोधन दर्ता नभए आन्दोलनको घोषणा हुनेछ ।