मधेसी मोर्चाको बन्द, अवरोधको बीच भैरहवामा एमालेको आमसभा सम्पन्न
२९ फागुन, भैरहवा । नेकपा एमालेले आइतबार रुपन्देहीको सदरमुकाम भैरहवामा शान्तिपूर्णरुपमा आमसभा सम्पन्न गरेको छ ।
मधेसी मोर्चाको बन्द, अवरोधको बीच सभामा बोल्दै एमाले अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश हेरफेर हुने गरी गर्न लागिएको संविधान संशोधन प्रस्ताव एमालेले स्वीकार नगर्ने बताएका छन् ।
आइतबार बिहान नवलपरासीको बर्दघाटबाट शुरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान भूमहीमा पुगेर सभामा परिणत भएको थियो भने भूमहीबाट अभियान बुटवल हुँदै भैरहवा पुगेको थियो ।
मोर्चाले बन्द घोषणा गरे पनि भैरहवा र बुटवल आसपासका क्षेत्रबाट एमाले कार्यकर्ता र समर्थकहरु सभास्थल पुगेका थिए ।
संविधान संशोधन विधेयक रेबिज लागेर आएको छ, पहिले ५ नम्बर प्रदेशलाई टोक्छ, त्यसपछि अरुलाई…
भैरहवाको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ नम्बर प्रदेश विभाजन गर्ने प्रयास कुनै .हालतमा स्वीकार्य नहुने बताए ।
‘यो संविधान संशोधन विधेयक बाहिरबाट रेबिज लागेर आएको छ, यसले पहिले ५ नम्बर प्रदेशलाई टोक्छ, त्यसपछि अरुलाई टोक्दै हिँड्ने हो’ ओलीले भनें, ‘अहिले ५ नम्बरमा दाँत गाडेर कालान्तरमा पहाड र तराईलाई पूर्ण रुपमा अलग गरेर पहाडी र मधेसीबीच झगडा लगाउने उद्देश्यले यसले बोेकेको छ ।’
ओलीले ५ नम्बर प्रदेश बिभाजन विरुद्ध बुटवल र भैरहवामा उत्रिएका लाखौं जनतालाई सरकारले बेवास्ता गरेको र मधेसी मोर्चाका नाममा २/४ जना उफि्रँदा संविधान संशोधन गर्न अग्रसर हुनु बाहृय शक्तिको डिजाइन हो भन्ने आरोप लगाए ।
भूमहीको सभालाई झलनाथ खनाल, सत्यनारायण मण्डललगायतका नेताले सम्बोधन गरेका थिए ।