२९ जेठ ०७५, काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।
दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेकाले परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।
प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे परिषद बैठकको बोलाएका छन् । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता, प्रतिनिधिसभाको उपसभामुख र प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन तथा न्यायमन्त्री सदस्यको रुपमा रहने संवैधानिक व्यवस्था छ ।