संवैधानिक परिषदको बैठक बोलाएकोमा काँग्रेसको आपत्ति

२८ चैत ०७५, पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको बैठक बोलाएकोमा आपत्ति जनाएका छन् ।

पोखरामा भएको जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आउन पाउँदिन बैठक नराख्नुस् भन्दाभन्दै पनि बैठक राखिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘हरेक क्षेत्रमा हस्तक्षेप गर्ने काम सरकारले गरेको छ ।’ देउवाले भने, ‘संवैधानिक परिषदमा काम परेर म आज आउन सक्दिन भन्दाभन्दै पनि मिटिङ राखियो, म यसको विरोध गर्छु ।’

संवैधानिक परिषदको यसअघिका दुईवटा बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवाको अनुउपस्थितिमा बसेको थियो । उक्त बैठकले संविधानले हालै व्यवस्था गरेको विभिन्न संवैधानिक आयोग र निर्वाचन आयोगका प्रमुखको सिफारिस गरेको थियो ।

देउवाले ओली सरकार गठनको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गर्दै भने, ‘दुईतिहाइको यो सरकारले एउटा पनि काम गर्न सकेन, उल्टो हत्या, हिंसा बढेको बढ्यै छ ।’

काँग्रेसका अर्का नेता रामचन्द्र पौडेलले संवैधानिक निकायका नियुक्ति कि निर्विवाद बनाउन सक्नुपर्ने कि प्रतिपक्षीलाई समकक्षीकै व्यवहार गर्नुपर्ने बताए ।

‘कम्युनिष्टको नियत नै पक्षपात गर्ने हो । आयोगमा उनीहरुका मान्छे खोजीखोजी हाल्ने, जे भन्यो त्यही मान्ने मान्छे खोजीखोजी हाल्ने, निर्वाचन आयोगमा पनि उसले जे भन्यो त्यही मान्ने मान्छे हाल्ने हो भने यो देशको हालत के हुन्छ ?’ पौडेलले भने ।

तपाइको मत