संशोधन विधेयकमा सार्वभौमिकता र स्वाधीनतामा प्रतिकूल हुने प्रावधानहरु आएको छ – थापामगर

१९ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयकमा नेपालको सार्वभौमिकता र स्वाधीनतामा प्रतिकूल हुने प्रावधानहरु आएको बताएकी छिन् ।

anuradha

आइतबार संसद अवरोध हुनुअघि संसदलाई सम्बोधन गर्नेक्रममा मगरले ‘सरकारको काम कारवाहीले देशमा शान्ति र अमनचयन कायम गर्न तथा देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षा गर्न मद्दत गर्ने हुनुपर्छ’ भन्दै सरकारले मंसिर १४ गते संविधान कार्यान्वयन र निर्वाचनको लागि भनी दर्ता गरेको संशोधन विधेयकमा नेपालको सार्वभौमिकता र स्वाधीनतामा प्रतिकूल हुने प्रावधानहरु आएको बताएकी हुन् ।

उनले संविधान संशोधन विधेयकको सत्ता पक्षकै राजनीतिक दलका कतिपय सांसदहरुले सडकमै उत्रेर विरोध गरिरहेको भन्दै प्रदेश नं. २ र प्रदेश नं. ५ हिमाल–पहाडविनाको तराई–मधेस भूभागमात्र समावेश गरी प्रदेश बनाउने विधेयक तराई–मधेस अलग गरी भारतमा गाभ्ने ‘रअ’ को योजनाअनुसार आएको बताइन् ।

‘ भारतीय राजदूत रञ्जित रेले मंसिर १८ गते मधेसी मोर्चाका नेताहरुलाई लैनचौरको दूतावासमा बोलाएर संशोधन विधेयकलाई स्वीकार गर्न र बाँकी विषय उठाउन सुझाव दिएको समाचार प्रकाशित भएको छ’ भन्दै थापामगरले भनिन्, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका राजदूत रे र ‘रअ’कापूर्वप्रमुख जोशीलाई अविलम्ब फिर्ता पठाउनुपर्दछ ।’

उनले ‘रअ’का पूर्वप्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौं बसेर संविधान संशोधन विधेयक ल्याउन निर्देशन दिइरहेको र राप्रपालाई एकीकरण गराउन तथा एमालेलाई विभाजन गराउन लागिपरेको खबर प्रकाशमा आएको छ भन्दै ‘के भारतको काश्मिर भूभाग अलग देश बनाउन नेपाल र नेपाली जनताले सुझाएमा भारतलाई स्वीकार हुन्छ ?’ भनी प्रश्न समेत उठाइन् ।

अंगीकृत नागरिकलाई प्रदेशलगायत संघको दुवै सदनमा आउन नपाउने संशोधन ल्याई देशको सार्वभौमिकता र स्वाधीनता रक्षा गर्नु पर्ने मगरको तर्क थियो ।

तपाइको मत