१२ साउन ०७४, काठमाडौं । संसद सचिवालयले संसदका सबै गतिबिधि समावेश भएको संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको सुरुवात गरेको छ ।
बिहीबार सभामुख ओनसरी घर्तीले संसदका सबै गतिबिधि समावेश भएको संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको उद्घाटन संसद भवन बानेश्वरमा गर्नु भएको हो ।
सभामुख घर्तीले उद्घाटन कार्यक्रममा संसदको आफ्नै भवन र सांसदहरुलाई सरकारी आवासका लागि प्रयास भइरहेको बताएकी हुन् । उनले संसद भवन भाडाको घरमा राख्नुपर्दा हिनता बोध भएको समेत बताइन् ।
सांसदहरुलाई सम्बोधन गर्दै सभामुखले भनिन्, ‘संसदको आफ्नै भवन होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । सांसदहरुलाई आवास सुबिधा होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’
सभामुख घर्तीले माघ ७ को समय सीमाभित्र सबै तहका चुनाव गरिसक्नुपर्ने भएकाले संसदको यही कार्यकालमा संसदको आफ्नै भवन प्राप्त नहुने बताउँदै उनले सांसदहरुलाई आधुनिक प्रणालीमैत्री र पेपरलेस बनाउन वेबसाइट र मोबाइल एप्स जरुरी रहेको समेत बताइन् ।
सभामुख घर्तीले संसदलाई पेपरलेस बनाउन अभियानमा युएनडिपीको सहयोगमा संसद सचिवालयले नयाँ वेबसाइट तथा एप्स बनाएको बताइन् । यस वेवसाइतमा संसदका सबै गतिबिधि समावेश गरिनेछ ।