संसद पुनर्स्थापनाले मात्र नेपाललाई विग्रह र शक्तिकेन्द्रको अखडाबाट बचाउँछ – काँग्रेस नेता पौडेल

१६ पुस ०७७, कास्की । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना अहिलेको आवश्यकता भन्दै सशक्त आन्दोलन जरुरी रहेको बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा रहेकाले उनले फेरि सरकारमा जान पाइन्थ्यो भनेर सपना नदेख्न समेत सुझाए ।

सरकारमा जाने चाहना नराख्न सुझाउँदै नेता पौडेलले अहिलेको अवस्थामा चुनाव हुने परिस्थिति पनि नरहेको र ओलीको मनसाय चुनाव गराउने नरहेकाले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता रहेको बताए ।

“ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,” उनले भने, “संसद पुनर्स्थापनाले मात्र नेपाललाई विग्रह र शक्तिकेन्द्रको अखडाबाट बचाउँछ ।”

संसद विघटन गरेर काम चलाउ सरकारका प्रधानमन्त्री रहेका ओलीले जनादेशलाई सडकमा फालिदिएको र आफूलाई शासक हुँ भन्ने देखाएको पनि उनले बताए ।

संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार नदिएकाले संविधान विघटन असंवैधानिक भन्दै उनले सर्वशक्तिमान तानाशाह मात्रै हुने र मुखले कानुन चलाउने बताए ।

“सर्वशक्तिमान त तानाशाह हुन्छ, मुखमा कानुन चलाउँछ, वरिष्ठ नेता पौडेलले भने, “केपी ओलीको मुखमा कानुन छ ?’

कांग्रेसलाई कम्युनिष्टसँग मिल्दा घाटा नहुने भन्दै उनले संयुक्त संघर्ष बनाएर संसद विघिटनकाविरुद्ध संघर्षका जानुपर्नेमा जोड दिए ।