५ पुस ०७७, काठमाडौं । राष्ट्रपतिले संसद विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सहित विभिन्न राजनीतिक दलले देशभर विरोध प्रदर्शन गरेका छन् ।
विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आइतबार साँझ सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू विद्यार्थी संघ, नेपाली कांग्रेस निकट तरुण दल र विवेकशील साझा पार्टीले कार्यकर्ताहरुले असंवैधानिक कदम खारेज गर भन्दै विरोध प्रदर्शन गरेका छन् ।
यस्तै जनकपुरधाममा नेकपा र जसपाका कार्यकर्ताहरुले जनकपुरमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री ओलीको कदम गैरकानुनी भन्दै प्रधानमन्त्री केपी ओली मुर्दावाद लगायतका नारा लगाएका थिए । साथै, असंवैधानिक कदम नसच्चयाएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका थिए ।
यस्तै सुर्खेतमा पनि युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् ।
उनीहरुले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भन्दै वुटवलमा प्रतिनिधि सभा विघटन गरिएको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विरोध प्रदर्शन गरेको छ ।
उनीहरुले बुटवलको राजमार्ग चौराहामा भउको प्रदर्शनमा ‘लोकतन्त्र मास्न पाइँदैन, प्रतिगमन चाहिँदैन’, कुशासनमा लिप्त ओली सरकारः प्रतिगमनको सबैभन्दा ठूलो मतियार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।
उनीहरुले विकल्प हुँदाहुँदै संसद विघटनको बाटो रोजेर असंवैधानिक कदम चालेको भन्दै उनीहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा नेकपाका नेता कार्यकर्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, गणतन्त्रका पक्षधर एक हौं लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
यस्तै काठमाडौंमा आजै माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, युवा साथै महिला संगठनको नेतृत्व र सहभागितामा विशाल विरोध ¥याली निकालिएको छ । उक्त ¥याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामाा गरिएको थियो ।
विरोध प्रदर्शनमा नेकपाका पूर्वमन्त्री, संघीय सांसद, केन्द्रीय सदस्य तहका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उनीहरुले ‘संसद विघटन जनमतको धोका हो,’ ‘प्रतिगामी कदम मान्दैनौं,’ ‘पुस ५ को प्रतिगामी कदम खारेज गर,’ ‘तानाशाही/अलोकतान्त्रिक प्रधानमन्त्री केपी ओली मूर्दावाद,’ ‘तानाशाही/अलोकतान्त्रिक प्रधानमन्त्री केपी ओली राजीनामा दे,’ लगायतका नारा लगाएका छन् ।
यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले प्रतिनिधिसभाको विघटनलाई राजनीतिक ‘कू’ को रिहर्सल भएको बताएको छ ।
पाटी संयोजक आहुतिले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा ‘प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले तुरुन्तै प्रतिनिधसभा विघटन गर्नु एक प्रकारको राजनीतिक ‘कू’ को रिहर्सल’ भएको उल्लेख छ ।
यस्तै संसद विघटनको निर्णयविरुद्ध ३ जना कानुन व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्र बहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन् । सो रिट दर्ता प्रक्रियामा रहेको बताइएको छ ।