२८ भदौ ०७४, काठमाडौं । तराई मधेसका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । थारु, मैथिली र भोजपुरी समुदायका महिलाहरुले महत्वका साथ मनाउने भएतापनि विशेष गरी थारू समुदायको महान् पर्व हो- जितिया।
मिचिलाञ्चल क्षेत्रकै पवित्र मानिने यो पर्व ३ दिनसम्म मनाउने गरिन्छ । आज बिहान सुर्य उदाउनु अघि नै नुहाइधुवाइ गरेर महिलाहरुले व्रत लिने गर्छन् । विशेष गरी महिलाहरू आ-आफ्ना सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन लागि आमाहरुले यो पर्व मनाउने गरेको पाइन्छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए। त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता छ । जितिया पर्वको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पनि जितिया पर्व मनाउने विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विशेषगरी जितिया पर्व नेपालको तराईमा साथै सीमावर्ती भारतका बिहार, उत्तर प्रदेश, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेशमा पनि यो पर्व मनाइन्छ। यस समुदायका सधवा तथा विधवा महिला आआफ्नै व्यवहार र चलनचल्तीअनुसार श्रद्घा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन्।