१४ भदौ ०७४, सप्तरी । निर्वाचन आयोगद्वारा प्रदेश नं. २ मा तेस्रो चरणको निर्वाचन नजिकिदै जाँदा सप्तरीमा पत्रकारका लागि मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा पत्रकारहरुले सञ्चार माध्यम मार्फत आम समुदायमा सूचना प्रवाह गर्ने भएकोले ‘निर्वाचन र सञ्चार प्रशिक्षण तथा अन्तरक्रिया’ कार्यक्रम मार्फत निर्वाचन आयोगले पत्रकारहरुलाई मतदाता शिक्षा दिएको हो ।
निर्वाचन आयोगका उप सचिव सुर्यप्रसाद अर्यालले पत्रकारहरुले आम जनसमुदायमा मतदाता शिक्षालाई व्यापक रुपमा प्रचार–प्रसारमा ल्याउनुपर्नेमा जोड दिदैँ, निर्वाचन सफल बनाउनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । अर्यालले भने-‘चुनावमा विभिन्न राजनीतिक दल तथा उम्मेदवार प्रतिष्पर्धामा आएर चुनावमा हार जीत हुनु स्वाभाविक हो, चुनावलाई निष्पक्ष एवम् धाँधलीरहित बनाउन आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।’
कार्यक्रममा पत्रकार आचार संहिता, स्थानीय तह र निर्वाचन प्रणाली एवम् स्थानीय तह निर्वाचन सम्वन्धी कानूनी व्यवस्था, मतदान तथा मतगणना प्रक्रिया, लोकतान्त्रिक निर्वाचनमा सञ्चारमाध्यमको भूमिका, आचारसंहिता र आमसञ्चारसँग निर्वाचन आयोगको अपेक्षा, निर्वाचनमा समावेशी प्रतिनिधित्व, नमूना मतदान र निर्वाचन आचार संहिताको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा, प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, युएनडिपीका प्रोजेक्ट को–अर्डिनेटर उषा कोइराला र जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश ठाकुर प्रशिक्षण कार्यक्रममा सहभागि थिए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सप्तरी जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।