सप्तरीको शम्भुनाथमा एक महिने ऐतिहासिक मेला सुरु, भक्तजनको भीड

९ बैशाख ०७६, सप्तरी । नव वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेलामा भक्तजनको भीड लागेको छ ।

मेला भर्न र भाकल पुरा भएपछि प्रसाद चढाउन सप्तरीका साथै सिराहा, उदयपुर, लगायत भारतको बिहार राज्यबाट आउने हजारौं भक्तजनका कारण मेलामा भीड लागेको हो ।

शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरको प्राङ्गणमा लाग्ने मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्न थालेपछि मेलामा पसल सञ्चालन गर्न आएका व्यापारीहरु पनि उत्साहित भएका छन् ।

मेलामा मिठाई पसल सञ्चालन गर्न सिराहाको लाहानबाट आएका रामदेव यादवले दिन प्रति दिन भक्तजनको संख्या बढ्दै गएपछि कारोबारमा समेत उत्साहजनक वृद्धि भएको भन्दै खुशी व्यक्त गरे ।

रुपनी र कठौनाको बीचमा पूर्व–पश्चिम राजमार्गदेखि एक किलोमिटर दक्षिणमा अव्यवस्थित यस मन्दिर भित्र रहेको शिवलिङ्ग करिब ८ फिट जति अग्लो र ३ फिट मोटो कालो पत्थरको छ । क्रमिक रुपमा सो शिवा लिङ्ग बढ्दै गएको र प्रत्येक वर्ष केही न केही अंश बढेको अनुभव स्थानीय वासिन्दाहरु सुनाउँछन् ।

बैशाख १ देखि एक महिनासम्म लाग्ने शम्भुनाथ मेलालाई धार्मिक महत्वका साथै नववर्षको शुभकामना आदान प्रदान गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ ।
यस मेलामा विभिन्न प्रकृति र सम्प्रदायका सयौं साधुहरुको जमघट भई मन्दिर परिसरमा बसी बैशाख महिना भरी साधनामा व्यस्त रहने साधुहरु अहोरात्र योग साधनामा लीन रहने गरेको र रातभरी किर्तन भजनले मेला गुञ्ज्यामान रहने गर्दछ ।

तपाइको मत