२१ भदौ ०७४, राजविराज । स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि जिल्लामा बुधबार ९ नगरपालिका र ९ वटा गाउँपालिकामा उत्साहजनक रुपमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारले मनोननयन दर्ता गराएका छन् ।
कतिपय उम्मेदवार बाजागाजासहित समर्थकहरुसँग नाचगान गर्दै मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनैतिक दलका साथै स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाकाअनुसार राजविराज नगरपालिकाको मेयरमा काँग्रेसबाट ध्रुव देव, एमालेबाट सुखराम यादव, माओवादी केन्द्रबाट अनिस अन्सारी, राष्ट्रिय जनता पार्टीबाट शम्भु यादव, संघीय समाजवादी फोरम नेपालाट भिमराज यादव, नेपाल लोकतान्त्रिक फोरमबाट शैलेश चौधरी र राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीबाट शैलेन्द्र कुमार साह, नयाँ शक्ति पार्टी र नेकपा संयुक्तको गठबन्धनबाट मेयरमा मिना ठाकुरले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपमेयरमा काँग्रेसबाट सुशीला यादव, एमालेबाट ममता चौधरी, माओवादी केन्द्रबाट सुमित्रा देवी यादव, राष्ट्रिय जनता पार्टीबाट साधना झा, संघीय समाजवादी फोरम नेपालबाट किरण साह, नेपाल लोकतान्त्रिक फोरमबाट पवनी देवी खंग र राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीबाट लक्ष्मी चौरसिया, नयाँ शक्ति र नेकपा संयुक्तको गठबन्धनबाट अनन्त साहले मनोनयन दर्ता गरेका छन् ।
राजविराज नगरपालिकाको मेयर र उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी नपरे पनि अन्य नगरपालिका, गाउँपालिकाहरुमा भने स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिकामा उत्साहनजक तथा शान्तिपूर्ण रुपमा मनोनयन कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिएका छन् ।