२० पुस ०७६, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा मदन भण्डारी रंगशाला फुटबल मैदान, एथलेटिक्स ट्रयाकसहितको निर्माण हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागि गाउँगाउँमा खेल पूर्वाधार निर्माण अनुसार यहाँ मदन भण्डारी रंगशाला निर्माण हुन लागेको हो ।
मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषदमार्फत् टेन्डर आह्वान समेत गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले जानकारी दिएका छन् ।
मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स ट्रयाकका साथै दर्शकका लागि आवश्यक प्याराफिट निर्माण हुनेछ ।
कञ्चनरुप नगरपालिकाको वडा नं. ९ मा निर्माण गरिने रंगशालाका लागि नगरपालिकाले १५ बिगहा जग्गा उपलब्ध गराइसकेको छ भने, आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरप्रमुख मिश्रले बताए ।
रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानीयस्तरबाटै राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने स्थानीयको कथन छ ।