देवराम यादव/२४ फागुन, सप्तरी । प्रहरीको गोली लागेर ३ जनाको ज्यान गएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मंगलबारबाट आह्वान गरेको अनिश्चतकालीन सप्तरी आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् भने प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् ।
प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको बा ७ च ७४७३ नम्बरको गाडी समेत तोडफोड गरेका छन् । मानवअधिकारकर्मीहरु अहिले जिल्ला अदालतमा राखिएको छ । उनीहरु सुरक्षित छन् ।
बिहानैदेखि मोर्चाका कार्यर्ताहरुले सदरमुकाम राजविराज, पूर्व–पश्चिम राजमार्गको भारदह, रुपनी, कञ्चनपुर, तोपा, हनुमाननगर सहितका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
कलकारखाना, शैक्षिक संस्था, यातायात ठप्प
बन्दका कारण पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका प्रमुख बजार ठप्प छ । कलकारखाना, शैक्षिक संस्था, यातायात ठप्प रहेको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरी सदरमुकाम राजविराज भन्दा तीन किलोमिटर उत्तर राजविराज औद्योगिक क्षेत्र नजिक प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागि मलेठ ४ का रन्जन मेहता, पिताम्बर मण्डल र प्रसबनी ४ का आनन्द साहको मृत्यु भएको थियो ।
मेहताको घटनास्थलमै र मण्डल र साहको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको होे ।
मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवका अनुसार सोमबारको झडपका क्रममा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको, आठ जना गोली गम्भीर घाइते भएको र ४० जना सामान्य घाइते भएको जानकारी दिए ।
मधेसी मोर्चाले आह्वान गरेको अनिश्चतकालीन सप्तरी आमहडतालका क्रममा राजविराजका सडकमा मंगलबार बिहानदेखि प्रहरी देखिएका छैनन् । प्रहरीहरु सरकारी कार्यालय र एमाले नेता कार्यकर्ताको घर सुरक्षामा केन्द्रित भएका छन् ।
उच्च अदालत जनकपुरको राजविराज इजलास बार पनि सडकमा
सप्तरीमा भएको घटनापछि सप्तरी जिल्ला बार इकाई र उच्च अदालत जनकपुरको राजविराज इजलास बार पनि सडकमा उत्रेको छ ।
सोमबार भएको घटनामा जिल्ला बारका कोषाध्यक्ष दिगम्बर यादव समेत प्रहरीको गोली लागि घाइते छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनको पेटमा गोली लागेको छ ।
उच्च अदालत राजविराज इजलास बार र जिल्ला बारको मंगलबार बिहान भएको बैठकले एमालेको मेची–महाकाली अभियानअन्तर्गत सोमबार भएको घटनाबारे छानविन गर्न उच्च अदालत राजविराज इजलास बार इकाईका अध्यक्ष विजयकुमार यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन टोली गठन गरेको छ ।
जिल्ला बारका अध्यक्ष रामप्रसाद चौधरीका अनुसार कानुन व्यवसायीहरुले मंगलबार दिउँसो ३ बजे राजविराजमा प्रदर्शन गर्ने तयारी गरिएको छ । कानुन व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा र थुनछेकबाहेकका मुद्दामा बहस पैरवी नगर्ने निर्णय भएको जिल्ला बार अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिएका छन् ।