सप्तरी जिल्लाको सम्पूर्ण स्थानीय तहको कार्यालयमा तालाबन्दी !

६ चैत, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले जिल्लाको सम्पूर्ण स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।

यसअघि जिल्ला समन्वय समिति र राजविराज नगरपालिकामा ताला लगाएका मोर्चाका कार्यकर्ताहरुले सप्तरी जिल्लामा बनाइएको १६ वटै स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय तहका कार्यालय प्रमुखको कार्यकक्षमा नौबुँदे माग अघि सार्दै ताला लगाइएको मोर्चा संयोजक दिनेश यादवले जानकारी दिएका छन् ।

परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक गरिएकाले यसलाई सच्चयाउनुपर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राख्नुपर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघीय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने मोर्चाको मागसहित ताला लगाउनुपरेको कारण सम्बन्धित कार्यालयहरुमा टाँसेको छ ।

रुपन्देहीका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका रसेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो ।

सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले बताए । उनले संविधान संशोधन नगरे मधेस क्षेत्रमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिए ।

उनले अब मर्चवार क्षेत्रमा मात्र नभई जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरिने बताए ।

तपाइको मत