३ भदौ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन कायम गर्ने सरकारको लक्ष्य पूरा गर्न भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन् ।
आइतबार १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको अन्त्यका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै यस्तो बताएका हुन् ।
“भ्रष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर फाली सुशासन कायम गर्ने सरकारको लक्ष्य हो । यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “हिजो राजनीतिक अस्थिरतालाई दुहाई दिँदै विकास समृद्वि सम्भव भएन भन्ने गरिन्थ्यो, तर अब कुनै पनि बहानावाजी सैह्य हुने छैन ।”
अब सामाजिक न्याय र समृद्विको सोचलाई वास्तविकतामा रूपान्तरण गर्ने बेला भइसकेको बताउँदै उनले भने, “अब हामीलाई रूमलिने, एकअर्कालाई दोषारोपण गर्दे सत्तोसराप गर्ने वा समस्याका चाङ् खडा हुँदा पनि त्यसको समाधान नगरेर अवरोध गरिरहने छुट छैन । मैले भन्ने गरेको छु, अब हामी सबै मिलेर यो राष्ट्र बनाउँ । जनताको हितका बारेमा सोचौँ । राष्ट्रिय समृद्विका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजसहित सबै सार्वजनिक निकाय गोलवन्द र एकतावद्ध हुन म बिशेष आव्हान गर्दछु ।”