१ पुस, काठमाडौं । जनयुद्धकालमा आफ्ना सबै सम्पत्तिहरु पार्टीलाई बुझाएर माओवादी नेताहरु सर्वहाराकरण भएका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टीको पाँचौ विस्तारित बैठकमा ३५ जना माओवादी नेताहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।
३५ मध्येका ६ जना हालै भएको माओवादी एकताका क्रममा प्रचण्ड नेतृत्वको पार्र्टीमा समाहित भएका हुन् भने एक नेताको निधन भइसकेको छ । राजनीतिक दलका नेताहरुले मन्त्री हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नुबाहेक पार्टीका तर्फबाट नेताहरुको सम्पत्ति सार्वजनिक गरिएको सम्भवतः त्यो पहिलो थियो ।
त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेका छन् भने अधिकांश पटक-पटक मन्त्री र सांसद भए । नौ वर्षअघि सम्पत्ति सार्वजनिक गरिएकामध्ये प्रचण्डसहित ५ जना अहिले पनि मन्त्री छन् । उनीहरुको सम्पत्ति विवरण बुधबार मात्रै सार्वजनिक गरिएको छ ।
प्रचण्डको सम्पत्ति : प्रधानमन्त्री प्रचण्डको सम्पत्ति सात धुर अझै घटाइएको छ । त्यतिबेला प्रचण्डले दुई तोला सुन र भरतपुर चितवनमा श्रीमतीसहितको नाममा तीन-चार लाख पर्ने एक कट्ठा, सातधुर घरघडेरी सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका थिए ।
कृष्ण बहादुर महराको सम्पत्ति : वर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा रोल्पाका लिवाङमा दुई तले पुरानो शैलीको घर र एक तले गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै सम्पत्ति रहेको जनाएका छन् । ती सम्पत्ति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उल्लेख गरेका छन् । उनी गरगहना नै नभएका मन्त्रीमा समेत परेका छन् ।
नौ वर्षअघि महराले जग्गासहितको घरबाहेक अतिरिक्त घरघडेरी नभएको, अन्दाजी तीन लाख मूल्य बराबरको प्रयोजनविहीन एक घर र एक गोठ, व्यक्तिगत प्रयोगमा भइरहेको वाहेक अतिरिक्त सामान नभएको उल्लेख गरेका थिए ।
जनार्दन शर्माको सम्पत्ति : ऊर्जामन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले रुकुम सदरमुकाम मुसिकोटमा दुई वटा पैत्रिक घर र १० रोपनी भन्दा बढी जग्गा तथा नगद ६० लाख दुई भाइका नाममा र श्रीमतीका नाममा बैंकमा नौ लाख सम्पत्ति रहेको जनाएका छन् ।
दुई तोला सुन र २० तोला चाँदी गरगहना रहेको तथा हाइड्रोमा ५० हजार कित्ता शेयर तथा गाईफार्ममा ५० वटा गाई आफ्नो सम्पत्ति रहेको शर्माले विवरण सार्वजनिक गरेका छन् ।
नौ वर्षअघि शर्माले नगद नभएको, अन्दाजी ७ लाखको घरघडेरी, एक लाखका लजिष्टिक र चार पाँच हजार बराबरको सुनचाँदी रहेको उल्लेख गरेका थिए ।
हितराज पाण्डेको सम्पत्ति : वर्तमान सरकारका स्थानीय विकासमन्त्री हितराज पाण्डेले गोरखामा १८ रोपनी जग्गा सहितको घर, चितवनमा ११ धुर जग्गा तथा ८ तोला सुन र ११ लाख भन्दा बढी सेयर सम्पत्ति रहेको जनाएका छन् ।
नौ वर्षअघि पाण्डेले पार्टीमा नगद नभएको, करिब २ लाख पर्ने एक रोपनी जग्गामा पर्ने घर, झण्डै २ लाख पर्ने २ रोपनी ६ आना खेत र करिब १० रोपनी पाखा जग्गा रहेको उल्लेख गरेका थिए । त्यतिबेला उनले ६० हजार बराबरको सामान र लजिष्टिकहरु तथा १ लाख ४ हजार बराबरको सुनचाँदी रहेको सम्पत्ति देखाएका थिए ।
२०६० सालमा चितवनको घँडेरी बेचेर आएको नगद रु २ लाख १० हजार त्यतिखेर नै कमाण्ड कार्यालय मार्फत पार्टीमा बुझाएको समेत माओवादी नेता पाण्डेले जनाएका थिए ।
सुरेन्द्रकुमार (राम) कार्कीको सम्पत्ति : वर्तमान सरकारका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले सिक्किम र दार्जिलिङमा दुई घर, भक्तपुरमा १९ आना र ओखलढुंगामा ४ रोपनी जग्गा तथा १० तोला सुना आफ्नो सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन् ।
नौ वर्षअघि उनले पार्टीमा ५० हजार, २० लाख बराबरको घरघडेरी, १ लाख ५० हजारको लजिष्टिक र २० हजारको सुनचाँदी सम्पत्ति रहेको बताएका थिए ।
रामबहादुर थापा ‘बादल’को सम्पत्ति : त्यतिबेला नेता रामबहादुर थापा ‘बादल’सँग नगद नभएको तथा साढे एक तोला सुन, आठ दश लाख पर्ने दुई कट्ठा जग्गाजमिन रहेको जनाएका थिए ।
देवप्रसाद गुरुङको सम्पत्ति : यस्तै, देवप्रसाद गुरुङको नगद सून्य, मनाङ ओडार गाउँमा सङ्गोलमा एउटा कच्ची घर रहेको तर २०५७ सालदेखि आफ्नो अंश पार्टीकरण गरेको जनाएका थिए । गुरुङले गरगहना नभएको तथा १० हजारको सामान र लजिष्टिक रहेको विवरण दिएका थिए ।
वर्षमान पुन अनन्तको सम्पत्ति : वर्षमान पुन अनन्तको नगद सामान्य वचत, ३ लाख ५० हजार बराबरो चार वटा घर घर घडेरी, अन्दाजी २५ लाखको जग्गा रहेको तथा श्रीमती र दुई वहिनीको गहनासमेत पार्टीमा बुझाएको नौ वर्षअघि सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनी त्यसपछि पटकपटक मन्त्री भएका छन् ।
टोपबहादुर रायमाझीको सम्पत्ति : माओवादी केन्द्रका अर्का नेता टोपबहादुर रायमाझीले नगद सून्य, १० लाख बराबरको घर घँडेरी, जग्गा र गरगहना केही नभएको विवरण पार्टीलाई दिएका थिए ।
दिनानाथ शर्माको सम्पत्ति : यस्तै, दिनानाथ शर्माले ७५ हजार बराबरको घरघडेरी २ लाख बराबरको पाखोबारी र खेत, एक तोला सुन रहेको तर लजिष्टिकसमेत नभएको विवरण सार्वजनिक गरिएको थियो ।
हरीबोल गजुरेलको सम्पत्ति : यसैगरी, हरीबोल गजुरेलको करिब १० लाख बराबरको २ वटा घर, ३ कठ्ठा घडेरी तथा १० लाख बराबरको १ विघा ३ कठ्ठा जमिन रहेका सम्पत्ति पार्टीलाई देखाएका थिए । उनीसँग त्यतिबेला ५० हजार बराबरको लजिष्टिक र ५ तोला गरगहना रहेको जनाइएको थियो ।
अग्नि सापकोटाको सम्पत्ति : नेता अग्नि सापकोटाको २ लाखको घरघडेरी, २३ लाखको जग्गा, ५ हजार लजिष्टिक रहेको तर २०५८ सालदेखि घर जग्गा सबै पार्टीकरण र स्थानीय पार्टीले नै भोगचलन गर्दै आएको जनाइएको थियो ।
हितमान शाक्यको सम्पत्ति : यसैगरी, हितमान शाक्यले स्कुल छोड्दाको एक लाख नगद, चार लाख बराबरको डेढ आना जमीनमा बाग्लुङमा चारकोठे घर, काठमाडौं मत्स्य गाउँमा स्कूलको साझ जग्गा, ब्यक्तिगत लजिष्टिक नभएको, पार्टी सम्पत्तिमा एक गाडी, डेस्कटप र ल्यापटप कम्प्युटर, टीभी, खाना पकाउने भाँडा आदि रहेको उल्लेख गरेका थिए ।
नन्दबहादुर पुनको सम्पत्ति : वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग भैंसी बाख्रा बेचेको आठ दश हजार नगद, ५० हजार बराबरको दुई भाइको घरघडेरी, सुन्तला बारीको स्थानीय मूल्यसहित ६०, ७० हजारको जग्गा र खेत रहेको जनाएका थिए ।
त्यतिबेला उनको आठ दश हजारको काँस, तामा, फलामको भाँडा र लत्ताकपडा तथा ७, ८ हजारको टप, टुकी रहेको सम्पत्ति पुनले देखाएका थिए । खोरिया, खरबारी, एक हल गोरु, सोलार बत्ति, बाकस, दराज, पुस्तक गरी १५, २० हजार रहेको जनाएका थिए ।
कुलप्रसाद केसी ‘सोनाम’को सम्पत्ति : यस्तै, कुलप्रसाद केसी सोनामको घरघडेरी नभएको, दाजुभाउजुसँग सगोलमा अन्दाजी २ लाखको जग्गा, आफ्नो अंश गर्दा ७० हजार जतिको जग्गा तथा घरमा दाजुभाउजुको गाईभैंसी, लत्ताकपडा गरी ३०, ४० हजार रहेको सम्पत्ति विवरण दिएका थिए ।
चक्रपाणि खनालको सम्पत्ति : प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवको करिब ५ लाखको रुपन्देहीको बुटवलमा घर घडेरी तथा श्रमतीको कानको टप १२ सय बराबरको रहेको जनाइएको थियो ।
शक्ति बस्नेतको सम्पत्ति : शक्ति बस्नेत ८० हजारको घर घडेरी, एक लाख बराबरको २ रोपनी जग्गा र ५ हजारको सुनचाँदी बाहेक अरु केही सम्पत्ति नभएको जनाइएको थियो ।
मातृकाप्रसाद यादवको सम्पत्ति : मातृकाप्रसाद यादवको २ लाख बराबरको घर घडेरी, ३ लाख बराबरको सामान, लजिष्टिक र केही सुनचादी मात्रै रहेको विवरण दिइएको थियो ।
लोकेन्द्र विष्टको सम्पत्ति : लोकेन्द्र विष्टको ३ हजारको लजिष्टिकबाहेक अरु केही सम्पत्ति नभएको जनाइएको थियो ।
पम्फा भुसालको सम्पत्ति : पम्फा भुसालको आफूले पाउने करिब १० लाखको एउटा काठमाडौंमा घर, अंशमा एउटा घँडेरीबाट करिब १ लाख आफूले पाउने, १० लाख मध्ये जग्गाबाट २ लाख आफूले पाउने र ४० हजार बराबरको साढे दुई तोला सुन रहेको जनाएकी थिइन् ।
गोपाल किराँतीको सम्पत्ति : गोपाल किराँतीको मात्र १२ हजार बराबरको लजिष्टिक तथा ६० हजार बराबरको घर जग्गा पार्टीमा बुझाएको जनाइएको छ भने लेखराज भट्टको १ रोपनी ३ आना घरघडेरी, २०, २५ लाख पर्ने जग्गा, एक लाख बराबरको लजिष्टिक मात्रै सम्पत्ति देखाएका थिए ।
त्यतिबेला सम्पत्ति सार्वजनिक गरिएका मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष, नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी)का महासचिव तथा डा.बाबुराम भट्टराई ‘लालध्वज’ नयाँ शक्ति पार्टीका संयोजक छन् ।
अहिले सीपी गजुरेल ‘गौरव’, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायणप्रसाद शर्मा पौड्याल, वैद्यसँगै छन् भने खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली विप्लवसँग छन् । देवेन्द्र पौडेल सुनिल भट्टराईको पार्टीमा छन् भने नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’को भने निधन भइसकेको छ ।
साभार: खबरडबलीबाट ।