समयमा कार्यालय नआउने र पोशाक नलगाउने कर्मचारी कारवाहीमा

११ असार ०७५, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने करिब १ हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १ सय ८८ जना समय पालना नगर्ने र २ सय ८० जना पोशाक नलाउने परेका छन् ।

केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालका अनुसार कारबाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार १ सय १९ जना र पोशाक नलगाउने ५ सय ४९ जना रहेका छन् ।

प्रवक्ता अर्यालले समयको पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गर्न निर्देशन दिइएको बताए । नियम पालन नगर्ने कर्मचारीलाई स्पष्टिकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारबाही गर्न सिफारिस गरिएको छ ।

तपाइको मत