३१ भदौं ०७५, काठमाडौं । रक्षा मन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई तथ्यपरक समाचार लेख्न आग्रह गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले यस्तो आग्रह गरेका हुन् ।
चित्त नबुझेका समाचारको उजुरी प्रेस काउन्सिलमा गर्नुपर्ने पत्रकारहरुका यसअघिका धारणाको मन्त्री पोखरेलले खण्डन गर्दै भने, ‘जे मन लाग्यो त्यही लेख्ने अनि प्रेस काउन्सिलमा उजुरी गर्नुस् भन्न मिल्छ ?’
‘पत्रकारलाई विरोध नगर्नुस् भनेको होइन तर तथ्यपरक विरोध गर्नुहोस्’ मन्त्री पोखरेलले भने ।
अर्को प्रसङ्गमा मन्त्री पोखरेलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले यस घटनामा केही सुरक्षा अधिकारीलाई निलम्बन गरिसकेको र हत्याराको गम्भीर खोजी भइरहेको जानकारी गराए ।