समानुपातिकमा भाग लिने दलले भदौ २७ सम्म निर्वाचन आयोगमा निवेदन दिनु पर्ने

२६ भदौ ०७४, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा  सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि निवेदन पेश गर्न सूचित गरेको छ ।

आयोगले आगामी मङ्सिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई एक सूचना जारी गर्दै यही भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचित गरेको हो ।

“प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूमध्ये प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि यस आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई निवेदन पेश गर्न अनुरोध गरिन्छ” आयोगद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

निर्वाचन आयोगले निवेदन पेश गर्दा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेश सभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन दुवैतर्फ भाग लिने हो स्पष्ट रूपमा खुलाउनु पर्ने जनाएको छ ।

“सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी निर्वाचन आयोगको समानुपातिक एकाईमा मिति २०७४ साल भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म निवेदन दर्ता गर्नु हुन सम्बन्धित सबै राजनीतिक दलहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ” आयोगको सूचनामा भनिएको छ, ‘म्यादभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउने व्यहोरा समेत जानकारी गराइएको छ ।”

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर १० गते आइतबार र मङ्सिर २१ गते दुई चरणमा एकै साथ गर्ने निर्णय गरिसकेको छ ।

तपाइको मत