सरकारको एकमात्र राम्रो कामका ‘लकडाउन’ – कांग्रेस नेता जोशी

२२ चैत ०७६, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारको एकमात्र राम्रो कामका ‘लकडाउन’ देखिएको बताएका छन् ।

नेता जोशीले लकडाउनपछि पनि अपनाउनुपर्ने सतर्कता, नियन्त्रणका लागि चाल्नुपर्ने उपाय र प्रभावितहरुको परीक्षण र उपचारमा भने सरकार पूरै असफल देखिएको बताएका छन् ।

लोकतान्त्रिक संविधानले निर्दिष्ट गरेको पद्धतिबाट गठित सरकारले लोकतान्त्रिक आचरण पालना गर्नुपर्ने भन्दै उनले अहिले सामाजिक सञ्जालहरुमा आएका प्रतिक्रियाहरुले यो सरकारको धज्जी उडाएको बताए ।

जोशीले कोरोनाविरुद्धको लडाईं चलिरहेका बेला अनुभव नै नभएको कम्पनीलाई विदेशबाट पीपीई लगायत स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का दिइनु र खरिदमा अनियमितता र भ्रष्टाचार भएको विषयवस्तु बाहिर आउनु नागरिकको जीवनमाथिको खेलवाड साथै मातृभूमिप्रतिकै बेइमानी समेत भएको बताएका छन् ।

स्वास्थ्य सुरक्षा सामग्री आयात प्रकरणमा मुछिएपछि सरकारले यो काम सेनालाई दिने विषयवस्तु आउनु भ्रष्टाचार लुकाउने नियत र सरकारको नालायकीपन रहेको भन्दै यसले आम लोकतन्त्रवादीहरुलाई चिन्तित तुल्याएको उनले बताए ।

कतिपय प्रदेशमा ज्वरो आएका बिरामीले सेवा पाउन नसकेको भन्दै कांग्रैस नेता जोशीले नागरिकको उपचारमा सरकार पूरापूर गैरजिम्मेवार देखिएको बताए ।

सरकारको कमी कमजोरी भए पनि उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गरी सबैखाले बिरामीको उपचार गरी पेशाकै मर्यादा माथि उठाउन स्वास्थ्यकर्मीहरुलाई सुझाउँदै नेता जोशीले परीक्षण गर्न आएका व्यक्तिहरुलाई, क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्यकर्मीले घरमै गएर बस्नुस् भन्छ भने निन्दनीय कार्य हुने बताएका छन् ।