२६ चैत ०७५, काठमाडौं । सरकारले अस्पताल र स्वास्थ्य संस्थाहरुमा हड्ताल गर्ने चिकित्सकहरू काममा नफर्किए आवश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरिएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले आन्दोलनमा उत्रिएका चिकित्सकहरू काममा नफर्किए कारवाही गर्ने चेतावनी दिएका हुन् ।
मंगलबार चिकित्सकहरू काममा फर्किने अपेक्षा गरिएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘यदि उहाँहरु काममा फर्किनु भएन भने प्रचलित कानुन बमोजिम कारवाही हुन्छ ।’
सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आफूहरु संघीय सरकार मातहत मात्रै रहनुपर्ने माग गरेका छन् । तर, सरकारले ती माग कानुन विपरीत रहेको भन्दै त्यसमा वार्ता नहुने प्रष्ट पारेको छ ।
प्रवक्ता श्रेष्ठले चिकित्सकहरू प्रदेश र स्थानीय तहमा समायोजन भएर गए पनि पाएको अधिकार नरोकिने र वृत्ति विकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको बताए । तर, यता आन्दोलनरत चिकित्सकहरुले निजामती कर्मचारी जसरी प्रदेश र स्थानीय तहमा समायोजन गर्न नपाइने बताइरहेका छन् ।