सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा खोप : लाइफ इज मोर इम्पोर्टेन्ट

३ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा सबै नागरिकलाई कोरोना खोप दिनु रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिनेक्रममा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

“सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता कोरोना खोप हो,” उनले भने, “विकास इज इम्पोर्टमेन्ट, लाइफ इज मोर इम्पोर्टटेन्ट ।”

प्रधानमन्त्री देउवाले कोरोना र बाढी पहिरोबाट मृत्यु हुनेहरुलाई राहत र क्षतिपूर्ति दिने काम सरकारको प्राथमिकतामा रहेको पनि बताए ।

यस्तै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा कुनै एक अमुक पात्रले मात्रै नल्याएको समेत बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै ल्याएको जस्तो गरी प्रचार गरिएकोप्रति इंकित गर्दै उनले भने, “लिम्पियाधुरा मैले गरेँ रे ! त्यो चुच्चे नक्सा प्रतिनिधिसभाबाट पास गर्न एकजनाले पनि विपक्षमा मतदान गरेको छैन् । यो हामी सबैले ल्याएका हौं ।”