सरकारबाट भ्रष्टाचार, कालोबजारी, कमिशनखोरलाई बढावा दिने कार्य भएको छ – जसपा

सरकारसँग कुनै ठोस कार्ययोजना नरहेको जसपाको ठहर

२५ साउन ०७७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) वर्तमान सरकारसँग कुनै ठोस कार्ययोजना नरहेको बताएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको साउन २१ देखि २४ गतेसम्म बसेको बैठकले गरेका निर्णयहरु आइतबार सार्वजनिक गर्दै जसपाले यस्तो बताएको हो ।

सरकारको कुनै ठोस कार्ययोजना नरहेको भन्दै जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘के.पी. ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ ।’

यस्तै वर्तमान सरकार बनेदेखि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने पड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देश भित्र विभाजनको बिऊ रोप्ने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायकवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको समेत पालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड़ने वालापन देखाउँदै परस्पर निर्भर विषयमा दुई छिमेकी मुलुकहरुवीच कुटनीतिक, आर्थिक सम्बन्धलाई बलियो र सन्तुलित नीति अपनाउनुको सट्टा झुटनीतिक अपरिपक्वता र असन्तुलन प्रदर्शन गर्ने, देशभित्र नश्लवादलाई प्रोत्साहन तथा भ्रष्टाचार र कालोबजारी एवम् कमिशनखोरीलाई बढावा दिने कार्य भएको छ ।’