सरकारमा जो आउँछ त्यसैको प्रवक्ता हो ऋषि धमला – उपेन्द्र यादव

९ बैशाख, काठमाडौं ।

Upendra-Dhamalaसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज बिहान नेपालवाणी रेडियो नेटवर्कको वाणी बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा ‘सरकारमा जो आउँछ, त्यसैको प्रवक्ता हो ऋषि धमला’ भन्दै प्रश्नको जवाफ दिँदै गर्दा टेलिफोन फ्याकेर अन्तर्वार्ता नै दिएनन् ।

संघीय गठबन्धनभित्र मधेसी मोर्चाको बिबाद र विदेशीसँग हुन लागेको आजको भेटवार्ताका विषयमा सोधिएको जिज्ञासासँग रिसाएका उपेन्द्रले कुरागर्न नमानेर टेलिफोन फ्याकेको पत्रकार धमलाले बताए ।

‘आज उपेन्द्र यादवजीले अस्वभाविक व्यवहार देखाउनुभयो’, पत्रकार धमलाले भने, ‘उहाँसँग समय लिएर मैले अन्तर्वार्तामा बोलाएको हुँ ।’

अन्तर्वार्ताको सुरूमै मधेसी मोर्चाभित्रको बिबाद र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको व्यक्तिगत टकरावलाई लिएर सोधिएको प्रश्नको जवाफ दिन नमानेर चिडिएका अध्यक्ष यादवले भनेका थिए, ‘यो सब केपी ओलीको षड्यन्त्र हो । राजेन्द्र महतोको बारेमा मसँग किन सोध्ने ? मलाई राजेन्द्रसँग लडाउने ? मेरो सम्बन्ध राम्रो छ । छाड्नुस् ! म फोन राखिदिन्छु । सरकारमा जो आउँछ त्यसैको प्रवक्ता हो ऋषि धमला । ऋषि धमला सरकारको मान्छे हो ।’

कुरागर्दा गर्दै रिसाएर पत्रकार धमलालाई जथाभावी बोलिरहेका अध्यक्ष यादवले भने, ‘आन्दोलन सबैतिरबाट हुन्छ । केपी ओलीको भाषा बोलेर तपाईले मलाई नसोध्नुस् ।’

संघीय गठबन्धनभित्रको बिबादका कारण चिढिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले संघीय गठबन्धन र मधेसी मोर्चामा कुनै पनि प्रकारको बिबाद नरहेको भन्दै आक्रोश पोखेका थिए । दैनिक नेपालमा खबर छ ।

तपाइको मत